Introduction

परिचय (Introduction)

१. पृष्ठभूमि Background : –

बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधर्मि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका आदिवासी/ जनजाति मध्येका याक्खा जाति एक हुन् | नेपालको संबिधान २०७२ को धारा ३०६ मा उल्लेख भए बमोजिम अल्पसंख्यक रूपमा रहेको याक्खा जाति, आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूचिमा समेत सूचिकृत छ | याक्खा जतिको जनसंख्या राष्ट्रिय जनगणना बि.सं. २०५८ अनुसार १७,००३ एवं  साक्षरता ६४.१ प्रतिशत रहेको छ  |

पूर्वी नेपालको धनकुटाको उत्तरी क्षेत्र एवं  संखुवासभाको दक्षिणी क्षेत्र उदगमस्थल मूलथलो भएका याक्खा जाति, याक्खा भाषी काठमाडौ उपत्यका लगाएत ४४ जिल्लामा बसोबास रहेको उल्लेख छ | यसैगरी याक्खा जातिका बालबालिकाहरू प्राथमिक बिद्यालय देखि माध्यमिक तहसम्म अध्ययन गर्ने अर्थात् स्कुल जाने विद्यार्थीको संख्या ६,९१५, (एस.एल.सी.) उत्तीर्ण गर्नेको संख्या ८७८, स्नातक उत्तीर्ण गर्नेको संख्या ८९ समेत जनगणनामा  उल्लेख गरिएको छ | नेपालको राष्ट्रिय जनगणना बि.सं. २०६८ अनुसार याक्खा जातिको कूल जनसंख्या जम्मा २४,३३६/-  याक्खा मातृ भाषा उल्लेख गराउनेको संख्या १९,५५८ /-  रहेको छ |

२. संस्थाको नाम :  नेपाल आदिवासी याक्खा संघ :

(Nepal Indigenous Peoples’ Yakkha Organization (NIYO).

बि.सं. २०५७ अर्थात् २१ फेब्रुरी २००१ मा स्थापना भएको नेपाल आदिवासी याक्खा संघ, श्री रामजी कोङरेनको संयोजत्वमा सदस्यहरू – श्री बिजय देवान, श्री मन्जु देवान, श्री जितेन्द्र देवान, श्री मदन जिमी, श्री शान्त जिमी, श्री हर्क जिमी लगाएत संस्थापक हुनुहुन्छ |

उक्त संस्था आदिवासी याक्खा जाति, याक्खा भाषा, लिपि, कला, धर्म, संस्कृतिको संरक्षण सम्बर्द्धन गर्नुको साथै सामाजिक तथा यस संग सम्बन्धित विभिन्न कार्यक्रमहरू संचालन गर्दै नेतृत्वको बिकाश गर्ने, एवं मुलुक भित्र र बाहिरका समुदाय संग सदभावना अभिवृद्धि गरी देश बिकाशमा सहयोग पुर्याउने उद्देश्यले संघ/संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भई समाज कल्याण परिषदमा समेत आबद्द छ | संघको केन्द्रीय कार्यालय काठमाडौमा रहेको छ |

नेपालको राष्ट्रिय जनगणना बि.सं. २०५८ र २०६८ मा याक्खा जातिको जनसंख्या उल्लेख गराउनमा समेत सक्रिय रहँदै आएको  छ | संघको सकृयतामा याक्खा भाषाको संरक्षण, सम्बर्द्धन र बिकाशका लागि बि.सं.२०६५ देखि नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम बिकाश केन्द्र सानोठिमी भक्तपुरसंगको सहकार्यमा प्राथमिक तह कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्य-पुस्तक निर्माण एवं प्रकाशन भई याक्खा भाषीहरूको बाहुल्य भएका ६ वटा बिद्यालयमा पठन-पाठन समेत हुँदै आएको छ |

३. संघको संगठनात्मक संरचना Organizational Structure : –

नेपाल आदिवासी याक्खा संघको संगठनात्मक संरचना एवं कार्य समिति गठनको सम्बन्धमा बिधानमा ब्यवस्था भए बमोजिम केन्द्रीय समितिमा अध्यक्ष-१, उपाध्यक्ष-२, महासचिब-१, सचिब-१, कोषाध्यक्ष-१, सदस्य-९ सदस्यीय रहने व्यवस्था छ |

प्रदेश समन्वय समितिमा अध्यक्ष-१, उपाध्यक्ष- १, सचिब-१, कोषाध्यक्ष- १, सदस्य-९ सदस्यीय गठन हुने व्यवस्था छ |

जिल्ला तथा स्थानीय तह पालिका/वडा समितिमा अध्यक्ष-१, उपाध्यक्ष-१, सचिब-१, कोषाध्यक्ष- १, सदस्य-७ सदस्यीय गठन हुने व्यवस्था छ |

४. संघका उद्देश्यहरू Objectives : –

१. ज्याक्खा जातिको उत्थान र बिकाशका लागि बिभिन्न सम्प्रदाय संग सम्बन्ध र सदभावना अभिवृद्धि गर्ने |

२. याक्खा भाषा, साहित्य, कला, लिपि, संस्कृतिको संरक्षण सम्बर्दनमा कार्यरत रहने, साथै शिक्षा र स्वास्थ्य आदिको क्षेत्रमा सबै संग सहकार्य गर्ने |

३. याक्खा भाषाको बिकाश गर्न बिद्यालय एवं बिश्वबिद्यालयमा पठन-पाठनका लागि सम्बन्धित निकायको लागि स्वीकृति लिइ वा सहकार्य गरी आवश्यक पाठ्य  सामग्रीको निर्माण एवं प्रकाशन गर्ने, गराउने साथै  पठन-पाठनका लागि आवश्यक पहल गर्ने |

४. सामुदायिक जनचेतनाको माध्यमबाट चेतनामूलक कार्यक्रम लगाएत सबै प्रकारका सूचना तथा संचार सेवाहरू उपलब्ध गराउनका लागि आवश्यक पहल गर्ने |

५. प्राबिधिक तथा ब्यबसायिक शिक्षाको सम्बर्द्धन गर्दै सिपमूलक तालिमहरू संचालन गर्ने |

६. वातावरण र बिनासलाई रोक्न एवं स्वच्छ राख्न आवश्यक कार्यक्रमहरू संचालन गर्ने |

७. समान उद्देश्य भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ/संस्थाहरूसंग मैत्रीपूर्ण सम्पर्क, समन्वय गरी सहयोग आदान-प्रदान गर्ने |

८. याक्खा जातिको मौलिक पहिचान संग सम्बन्धित बिषयबस्तुहरूको संरक्षण सम्बर्दन गर्न, गराउनमा जोड दिने |

९. याक्खा जातिको आर्थिक, सामाजिक, सशक्तिकरणका कार्यक्रमहरू संचालन गर्न पहल गर्ने | 

१०. संयुक्त राष्ट्र संघको आदिवासी अधिकार सम्बन्धि घोषणापत्र र अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं १६९ ले प्रत्याभूत गरेका कुराहरू प्राप्तिका लागि जोड  दिने |

११. मानव अधिकार सम्बन्धि बिश्वब्यापी धोषणापत्र, गगारिक वडापत्र, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अनुबन्धहरूले सुनिश्चित गरेका हक अधिकार प्राप्तिको लागि प्रयत्नरत रहने |

५. मुख्य उद्देश्य –  Mission.

याक्खा जाति, भाषा, लिपि, संस्कार-संस्कृतिको उत्थान गर्दै ब्यबसायिक, सीपमूलक तालिमहरू संचालन गर्ने | जिविकोपार्जनका लागि आवश्यक कार्यक्रम संचालन गर्न, गराउन  पहल गर्ने | साथै    बिभिन्न सामाजिक कार्यक्रम संचालन गरी राष्ट्रिय संस्कृतिको निर्माणमा योगदान पुर्याउने |

६. दुर-दृष्टि / परिकल्पना – Vision.

याक्खा जाति, भाषा, लिपि, संस्कार- संस्कृतिको समुन्नत बिकाश गरी विद्यालय/ विश्वविधालय सम्म याक्खा भाषाको पठन-पाठन गर्न, गराउनको साथसाथै संचार माध्यममा समाचार, कार्यक्रम सम्प्रेषण गर्दै, गराउंदै सामाजिक रूपमा सबल, समुन्नत समाजको स्थापना गर्ने |

७. लक्ष्य / ध्येय – Goal.

उच्च शिक्षा सम्म याक्खा भाषा, लिपिमा पठन-पाठन गर्ने, गराउने | संचार माध्यम (रेडियो- टेलिभिजन) आदिमा समाचार (कार्यक्रम) सम्प्रेषण गर्ने, गराउने | साथै सामाजिक र आर्थिक रूपमा समृद्ध समाजको निर्माण गर्ने |  

८. संक्षिप्तमा याक्खा जातिको परिचय : –

याक् – बास, याक्-मा = बास बस्नु | पूर्बी नेपालको ऐतिहासिक किपटिया भू-भाग अन्तर्गत “दशमझिया क्षेत्र” मा याक्खा जाति, याक्खा भाषा, याक्खा संस्कृतिको उदगमस्थल पुर्ख्यौली मूलथलो मानि त्यसको आसपास लगायत विभिन्न ठाउँमा बसोबास गर्ने मंगोलोइड मूलका बंशजका आधारमा याक्खा भाषा, याक्खा संस्कृति, परम्परा, चाल-चलन, रिति-रिवाज अंगाल्ने प्रकृति पूजक मानब नै याक्खा जाति हुन् | याक्खा उदगमस्थलका  गाउँ-ठाउँ, डाँडा-काँडा, खोला-नाला, कुवा-धारा पानी आदिका समेत आफ्ना मौलिक नाम र समेअछोङ् (गोत्र) हुन्छन |

९. सांस्कृतिक सम्पदाहरू :

बहुसंस्कृति मुलुक भित्र याक्खा लोक-संकृतिको पनि महत्वपूर्ण स्थान रहेको छ | याक्खा लोक-संस्कृति, कला-साहित्य समाज र राष्ट्रका राष्ट्रिय सम्पति हुन् | यी सम्पतिहरूको संरक्षण, सम्बर्दन गर्नु राज्यको दायित्व हुन्छ | याक्खा जातिका सांस्कृतिक सम्पति अन्तर्गत मुख्य रूपमा केइ लाक्  र चावाक्  लाक्   रहेकाछन |

क) च्याब्रुङ नांच (केइ लाक् ) :–

याक्खा जातिको एक मात्र सांस्कृतिक बाजाको रूपमा रहेको केइ (च्याब्रुङ) काठको ढुङ्ग्रो

लाई बाख्राको छालाले मोडेर बनाइएको ढोल बाजा हो | याक्खा जातिको शुभ-कार्यहरूमा   बजाइने बाजा बिशेष गरी नयाँ घर निर्माण गरी सकेर बस्नको लागि प्रवेश गरेको दिन, शुभ-बिबाह र चाड-बाड (उंधौली-उंभौली)मा पुरुष, महिला भएर च्याब्रुङ बजाउंदै यो च्याब्रुङ नांच  (केइ लाक्) नाचिन्छ | च्याब्रुङ नांचलाई याक्खा भाषामा केइ लाक्  भनिन्छ |

ख) धान नांच (चावाक्  लाक् ) :–

याक्खा जातिको सांस्कृतिक नृत्य मध्येको चावाक्  लाक्  (धान नांच) एक महत्वपूर्ण नांच हो | याक्खा भाषामा चावाक्  लाक्  भनिन्छ | नाता- साइनो नपर्ने कुटुम्बेरी थर-गोत्रका याक्खा पुरुष र महिला विशेषगरी युवा-युवती बीच नाचिने यो नांच शुभ-कार्य, चाड-बाड, उंधौली-उंभौलीमा भेट हुँदा नाच्ने गरिन्छ | याक्खा भाषामा रचिएका पालाम, हाक्पारे पालामको सारमा युवा-युवती बीच सामुहिक रूपमा नाचिन्छ | भाषा-साहित्यमा बिशेष महत्व रहने चावाक लाक लोल-दोहोरी झैं महिला-पुरुष बीच आलो-पालो आफ्नै भाका-शैलीमा प्रस्तुत गर्ने गरिन्छ |

ग) भेष-भूषा (पोशाक) :

याक्खा जातिको मौलिक पहिचान झल्काउने मध्येको भेष-भूषा एक हो | केहिबर्ष अगाडी सम्म  याक्खा जातिले  कपास खेति गरी कपास कातेर त्यसको धागो बनाई खांडी कपडाको भेष-भूषा लगाउने गर्दथे | याक्खा पुरुषको भेष-भूषा (पोशाक) दौरा-सुरुवाल, शिरमा ढाका-टोपी,  फेटा(पगरी), कम्मरमा पटुकी, आस्कोट आदि हो  |

याक्खा महिलाको भेष-भूषा (पोशाक) चौबन्दी चोली, गावन सारी, कम्मरमा पटुकी, शिरमा खेस(ढाका)को पछ्यौरी हो | गर-गहनामा याक्खा महिलाहरुले  शिरमा सुनको फूल- शिरबन्दी, कानमा सुनको गोदावरी-माडवारी- कानढुङ्ग्री, नाकमा सुनको ढुङ्ग्री-मुन्द्री-बुलाकी-फूली, गलामा सुनको कण्ठ-नौगेडी, चाँदीको चन्द्रहार, हातमा सुन-चाँदीका चुरा, पाउमा चाँदीका कल्ली आदि लगाउने गर्दछन | 

१०. चाड :-

याक्खा जातिका आफ्ना मौलिक चाडहरूमा उभौली- युच्याङ् (बैशाषे पूर्णिमा) र उधौली- चासोवा (मङ्सिरे पूर्णिमा) मुख्य हुन् |  याक्खा जाति प्रकृति पूजक भएकोले आफ्नो भूमि-माटोको पूजा गर्नुको साथै माटोबाट उब्जनी भएका अन्नबालीको पूजा गरेर चाड मनाउने संस्कृति छ |

क) उंभौली (युच्याङ्) : –   

अन्नबाली (धान,कोदो)को बीउ बिजन लगाउनु अघि उंभौली (बैशाखे) पूर्णिमाको दिनमा यो चाड मनाउने परम्परा छ | अन्नबालीको लागि घाम,पानी लगाएत मौसमले राम्रो साथ् दियोस, यसको अलवा आँधिबेरी, हुरी-बतास, असिना, पहिरो एवं बोट-बिरुवामा रोग-ब्याधि नलागोस भन्ने कामनाका साथ प्रकृतिसंग प्रार्थना गर्दै गाउँ-गाउँका याक्खाहरु एकै एकै ठाउँ भेला भएर  युच्याङ् पूजा गर्दछन | त्यसपछि खुसियालीका साथ केइ लाक् (च्याब्रुङ् नांच) नाच्दै  उंभौली चाड मनाउने चलन छ |

ख) उंधौली (चासोवा) : –

खेत-बारीमा लगाएको अन्नबाली (धान,कोदो) पाके पछि त्यसको केहि भागलाई घरमा ल्याई चामल लगाएत विभिन्न खाद्यपदार्थ तयार गरी आफ्ना कुल-पितृहरूलाई तर्पण दिई सकेपछि अन्नबालीको सह-प्राप्ति होस् भनि प्रकृतिमाता संग प्रार्थना गरी चासोवा पूजा गरी घर-घरमा

उंधौली (चासोवा) मङ्सिरे पूर्णिमा चाड मनाउने प्रचलन छ | उंधौली चाडमा केइ लाक् (च्याब्रुङ् नांच) नाच्ने चलन छ |

ग) खानपिन (भोजन) : –

कृषि पेशामा निर्भर रहने याक्खा जातिको भोजन तथा खानपिनमा कृषिजन्य उत्पादन अन्नबालीबाट तयार गरिएका  सामान्य परिकार दाल-भात-तरकारी- अचार हुन् |

११. जीवन चक्र  (जन्मदेखि अन्त्येष्ठी सम्म) :

मानब समुदायको जीवन चक्रको रूपमा जीवनभर गरिने नगरी नहुने बिधि समुदायले निर्माण गरेका  परापूर्वकाल देखि गर्दै ल्याइएका संस्कारहरु नै जीवन चक्र हो | यो चक्रले नै सम्बन्धित जातिको पहिचान झल्काई रहेको हुन्छ |  प्रकृति पूजक किराँत धर्मलम्बी याक्खा जातिको जीवन चक्र ७  प्रकारले जीवन्त बनाई रहेको पाइन्छ |

क) जन्मपूर्व गरिने कोखपूजा :

याक्खा जातिमा बिबाहित महिला गर्भवती भएको नवौ महिना लागे पश्चात यो पूजा गर्भवती महिला र पेटभित्रको बच्चा दुवैको शु-स्वास्थ्यको लागि याक्खा माङ्हाङ्वा  धामीलाई पूजापाठ गर्न लगाउने चलन छ | यसलाई याक्खा भाषामा चेराङ्गमा च्याङ  भनिन्छ | 

ख) जन्म : –

जन्म मानब जाति लगायत जिबजन्तु सबैको लागि महत्वपूर्ण र शुरूवातको अवस्था हो | याक्खा जातिको जन्म पनि यसरी नै महत्वपूर्ण रहेको छ | याक्खा जातिमा बच्चा जन्मिएपछि बच्चाको (साल-नाल) नाभीलाई चाँदी कम्पनि रुपैयामाथि राखेर धरियो चक्कु, पत्ती (ब्लेड) ले काट्ने परम्परा छ | त्यसपछि साललाई एउटा बाँसको ढुंग्रोमा राखेर दुध वृक्ष (काब्रो, खिर्लो,दुधिलो) को रूखमा लगेर राख्ने गरिन्छ | यसो गरेमा सुत्केरी आमाको दुध प्रसस्त आउने किम्बदन्ति छ | त्यसरी साल र बच्चालाई छुट्याई सके पश्चात नवजात शिशुलाई आमाको दुध खुवाउने चलन छ |

ग) न्वारन : –

नवजात शिशुको न्वारन अर्थात् नाम जुराउने कार्यलाई न्वारन भनिन्छ | याक्खा जातिमा नवजात शिशुको जन्म भएको दिन देखि दिन गन्ति शुरूगरी ४  दिनमा छोराको र ३ दिनमा छोरीको प्रभातकालीन समयमा नाम जुराउने प्रचलन छ | उक्तदिन  नवजात शिशुको नाम जुराउनको लागि बंशज दाजुभाइ भित्रका बुढीपाकी आफन्तहरूलाई बोलाइएको हुन्छ | उपस्थित बुढीपाकी महिलाहरूले न्वारानको दिन नवजात शिशु  र आमालाई नुहाई दुहाई सरसफाई गरिसके पश्चात नवजात शिशुको रूप, रंग, हाउ-भाउ, दिन, महिना, साल-बर्ष हेरेर नाम राखी दिने चलन छ |

घ) बिबाह :

बिबाह मानब जीवनको एक महत्वपूर्ण र दुई आत्म केटा र केटी बीचको मन, भावना, विचार ब्यबहारको जिन्दगी शुरूवातको कार्य हो | बिबाह पश्चात नै मानिसको घर-परिवार अनि समाजको निर्माण भएको हुन्छ  | याक्खा जातिमा एकै थर-गोत्र, नाता-गोता भित्र बिबाह गर्न नहुने धर्म, परम्परा  छ | याक्खा जातिमा एकै थर-गोत्रका बंशज दाजु-भाइ बन्धु-बान्धाव  हुन् | आ-आफ्ना मामाली = आमाका माइती पट्टि, बुढामामाली = आमा-बुबा दुवैजनाका मामाली पट्टि, कुप्रा मामाली = हजुरबा हजुरमा पट्टिका मामाली, खुप्रा मामाली = जिजुबा जिजुमा पट्टिका मामाली, सुप्रा मामाली = चेप्जुबा चेप्जुमा पट्टिका मामाली आदि लगायत एकै थर-गोत्र बंशज भित्रका दिदीबहिनी, छोरी-चेलीका सन्तान सबै नाता-गोता भित्र पर्दछन |  

यी थर-गोत्र, नाता-गोता बाहेक अरु थर-गोत्रका याक्खा कुटुमबेरी मानिन्छन  याक्खा जातिमा बिबाह दुई प्रकारको हुन्छ | एउटा हो मागी बिबाह  (मनदाता) – यस बिबाहमा कन्या केटाले कुटुम्बेरी कन्या केटी लगाएत निजका घर-परिवार अभिभावक सबै समक्ष बिबाहको लागि औपचारिक रूपमा आफ्नो परम्परा अनुसार विधिपूर्वक मगनी (प्रस्ताब) गरी अभिभावकहरूको स्वीकृतिमा बिबाहको तिथि-मिति तय गरि केटा(बिहुला)को घरमा बिबाह सम्पन्न गरिएको हुन्छ | अर्को हो प्रेम बिबाह अर्थात् (भागी) बिबाह –  केटा र केटी बिच चिनजान भई अभिभावक (माईति)हरूको स्वीकृति बिना केटी माईति घरबाट भागेर  केटाको घरमा आई  गरिने बिबाह भागी बिबाह (चोरी बिबाह) हो | तर केटाको घरमा बिबाह हुँदा रिति-रिवाज चाँही मागी बिबाह र भागी बिबाहमा एकै किसिमको हुन्छ, कुनै फरक विधिबाट हुदैन | यी दुवै प्रकारका बिबाह केटा(बेहुला)का  घरमा सम्पन्न भएपश्चात केटी(बिहुली) का माइती-घरमा बिबाह हुन्छ |

ङ)  वाकताता (साइमुन्द्री) : –

याक्खा जातिका छोरी-चेलीको बिबाह भएको केहि बर्षपछि छोरी-ज्वाई (माइती-ससुराली) मा आफ्नो रिति-थिति परम्परा अनुसार औपचारिक रूपमा बाकताता (साइमुन्द्री) माग्न आउने परम्परा छ | वाकताता माग्न आएपछी छोरी-ज्वाईलाई माइतीपट्टिबाट विधिपूर्वक वाकताता (साइमुन्द्री) दिने चलन छ |  बिबाहित छोरी-चेलीको देहाबसन पश्चात  धार्मिक रूपमा गरिने संस्कार कुटुम्बा(ज्वाईं) लाई सुम्पने (सार्ने) कार्यलाई वाकताता (साइमुन्द्री) भनिन्छ |

च) बिदावारी : –

याक्खा जातिका छोरी-चेलीलाई वाकताता दिएको केहि बर्षपछि बिदाबारी पनि दिने चलन छ | बिदाबारी माग्न छोरी-ज्वाई  माइती-ससुरालीमा आएपछि माइती पट्टिबाट पनि विधिपूर्वक बिदाबारी दिने प्रचलन छ | 

छ) मृत्यु (अन्त्येष्ठी) : –

मानिसको मृत्यु भई सके पश्चात निजको पार्थिब शरीरलाई आफ्नो जातीय संस्कार अनुसार सदगद (मृत-शरीरलाई छिपाउने) कार्यलाई अन्त्येष्ठी (अन्तिम) संस्कार भनिन्छ | याक्खा जातिका मानिसहरूको मृत्यु पश्चात खोला-नदीको किनारमा काठको दाउराको चिता बनाई जलाउने परम्परा छ | यसैगरी बन-जंगलमा लगेर खाल्डो खनी ढुंगाको बाकस बनाई गाड्ने पनि चलन छ | सदगद कार्य सकिए पश्चात मृतकका छोरा-छोरी लगायत मलामीहरु घर फर्की कोरामा बस्ने परम्परा छ, मृतकका घर-परिवार लगायत एकै थर-गोत्रका बंशज दाजु-भाइ भित्र छाक-जुठो लाग्ने हुन्छ, अर्थात् नून, तेल लगायतका खानपिनका खाद्य-पद्धार्थ नखाई छाक-जुठो बार्ने परम्परा छ | मृतकको पार्थिव शरीरलाई अन्त्येष्ठी (सदगद) गरिसकेको दिन देखि दिनगन्ती शुरू गरी महिलाको भए ३ दिनमा र पुरूषको भए ४ दिनमा नून, तेल, सिस्नो पकाई छोई जुठोबाट चोक्खिने अर्थात शुद्दी हुने परम्परा छ |

धन्यबाद |